काठमाडौं । सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्रि रेखा शर्माले निर्वाचन आयोगसँगको परामर्शका आधारमा मिति निर्धारण गरिएको जानकारी दिनुभयो । आगामी फागुन २० गते राष्ट्रियसभामा १९ जना सांसदको पद रिक्त हुँदैछ । राष्ट्रियसभा सदस्यहरुको पद रिक्त हुनुभन्दा एक महिना अघि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि गरेको छ । आवश्यकताका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी आवास निर्माणमा परिचालन गर्ने सरकारको निर्णय छ । त्यसका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनशक्ति उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता शर्माले बताउनुभयो । भूकम्प पीडितको अस्थायी आवास निर्माण नभएको गुनासो आएकाले सरकारले अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।










