images
images

दोलखामा सवारी ज्यान मुद्धाका आरोपी ५० हजार धरौटीमा रिहा

  • १३ मंसिर २०८०, बुधबार १३:१२

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको घटनामा पक्राउ परेका चालक ५० हजार धरौटीमा रिहा भएका छन् ।

गत कात्तिक १४ गते भीमेश्वर नगरपालिका ७ मा मोटरसाइकल दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका–५ का ४० वर्षिय रामकुमार खड्काको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेका अरनिको यातायातको बा २ ख ५२९३ नम्बरको बसका चालक भीमेश्वर नगरपालिका–५ का सुशिल श्रेष्ठ धरौटी बुझाएर रिहा भएका हुन् । दोलखा जिल्ला अदालतका न्यायधिश डिल्लीरत्न श्रेष्ठको इजलासमा भएको थुनछेकको बहसपछि श्रेष्ठ ५० हजार धरौटी रकम बुझाएर रिहा भएका छन् । काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल दुर्घटनामा खड्काको मृत्यु भएपछि गरिएको अनुसन्धानका क्रममा बसको ठक्करबाट उनको मृत्यु भएको देखिएको थियो ।

सुरुमा प्रहरीले मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिएपनि अनुसन्धानमा बसले मोटरसाइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पुष्टि भएको थियो । त्यसपछि अरनिको यातायातको बा २ ख ५२९३ नम्बरको बस र चालकलाई प्रहरीले कात्तिक १५ गते नियन्त्रणमा लिएर सवारी ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान गरेको हो । २० दिन लामो अनुसन्धानपछि प्रहरीले बसका चालकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालत पेश गरेकोमा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।