काठमाडौं । बाला चतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिले बागमती नदीमा ४ करोड लिटर पानी छाडेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रलाई मेलम्चीको पानी वाग्मती नदीमा छाड्न निर्देशन दिएपछि केन्द्रले बागमतीमा मेलम्चीको पानी छाडेको हो । हिजो साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बाला चतुर्दशीका दिन पशुपतिनाथ स्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।
आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र भोली बिहान सत बिजछर्ने परम्परा रही आएको छ ।