रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा सवारी दुर्घटनामा परि वडाध्यक्ष सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । आज काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको वडा नम्बर ६ फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको रामेछापका डीएसपी प्रदीप सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । गाडीमा ८ जना सवार थिए ।
अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । गाडी सडकबाट करिब ३०० मिटर तल खसेकोथियो । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।