रामेछाप । रामेछाप दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुलेको छ ।
दुर्घटनामा परि गोकुलगंगा गाउँपालिका ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत, रामेछापको मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा–५ की ३० वर्षीय कविता कार्की र उनकी छोरी ७ वर्षीया स्वस्तीका खड्काको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।
मृतकमध्य हिराबहादुर कार्की गाडी चालक हुन् । दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) विक्रम खड्काले जानकारी दिनुभयो ।
दुर्घट्नामा परि कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाईते भएका छन् । घाईते भएका करिव ३/४ वर्षका बालकको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ । बालकको शरीरको विभिन्न भागमा चोट लागेको छ ।घाईतेहरुको मन्थलीमा उपचार भईरहेको छ ।
काठमाडौँबाट रामेछापको बेतालीतर्फ आउँदै गरेको ना १ ज ७१२३ नम्वरको फोर्स गाडी आज दिउँसो करिव २ बजे गोकुलगंगा गाउँपालिका ६ फर्पु जिरोकिलोस्थित सिमलडाँडा भिरमा दुर्घट्ना भएको थियो । १४ सिटे फोर्स गाडीमा ८ जना सवार रहेका थिए ।