images
images

मन्त्रीसँगै जापान जाने ३ जनालाई धरौटी तोकियो, जिरीका सुनुवार सहित तीन जना थुनामा

काठमाडौँ । मन्त्रीसँगै मानव तस्करी प्रकरणमा जोडिएका दोलखाको जिरीका वीरबहादुर सुनुवार कारागार चलान भएका छन् ।

नक्कली कागजात तयार गरि जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा सुनुवार सहित तीन जना कारागार चलान भएका हुन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको ईजलासले तीन जनालाई थुनामा पठाउन, तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

जसअनुसार दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवार, धादिङको त्रिपुराुसन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे र नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल कारागार चलान भएका छन् ।

यसैगरी, मन्त्रीसँगै जापान पुगेर फर्किएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा ५०÷५० हजार धरौटीमा रिहा भएका छन् भने नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ परेका नवीन राई र बुद्धि राईलाई साधारण तारेखमा छाडिएको छ । घटनामा संलग्न तीन जना भने अझै फरार छन् ।

उनीहरुमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो । सोही प्रकरणमा मुछिएका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई भने क्लिन चिट दिईएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा नचलाउने निर्णय गरेपछि पूर्वमन्त्री अधिकारी यसअघि नै रिहा भईसकेका छन् ।

तर, अधिकारीमाथि मुद्धा नचलाउने निर्णय विरुद्ध आजै सर्वाेच्चमा रिट दायर भएको छ । मानव तस्करी र कीर्ते मुद्धामा प्रहरीले मुद्धा चलाउन राय दिएपनि सरकारी वकिल कार्यालयले उन्मुक्ती दिएको भन्दै उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।