images
images

गौरीशंकरको उपनिर्वाचनमा खटिए १२६ कर्मचारी

दोलखा । आईतवार हुने उपनिर्वाचनका लागि दोलखाको गौरीशंकर गाउँपालिकामा १२६ जना कर्मचारी खटिएका छन् ।

गौरीशंकरमा उपाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि १२ वटा मतदानस्थलमा रहेको २१ वटा मतदान केन्द्रमा १२६ जना कर्मचारी खटिएका हुन् । उपनिर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी १०५ जना र स्वयम्सेवक २१ जना गरी १२६ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती मतदान केन्द्रमा २१ जना मतदान अधिकृत, २१ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा २ जनाका दरले ४२ जना सहायक कर्मचारी, २१/२१ जना सहयोगी कर्मचारी र स्वयम्सेवक खटिएका हुन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी रहनेछन् ।

मतदान केन्द्रमा कर्मचारी पुगिसकेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । उपनिर्वाचनमा ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । जसअनुसार करिब ४०० नेपाल प्रहरी, १५० बढी सशस्त्र प्रहरी र आवश्यकताका आधारमा नेपाली सेना परिचालन हुने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो । गौरीशंकरमा ७ राजनीतिक दल र ९ स्वतन्त्र गरी १६ जना उम्मेवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा १५ हजार ७१८ मतदाताले मतदान गर्दैछन् ।