images
images

रामेछाप दुर्घटनामा मृत्यु भएकी आमा र घाइते छोराको पहिचान खुल्यो

  • १४ मंसिर २०८१, शुक्रबार २१:४१

रामेछाप । रामेछाप दुर्घटनामा मृत्यु भएकी एक महिला र घाइते बालकको पहिचान खुलेको छ ।

आज दिउँसो गोकुलगंगा गाउँपालिका–६ मा दुर्घटनामा परि मृत्यु भएकी महिला र उनको घाइते छोराको बल्ल पहिचान खुलेको हो । दुर्घटनामा मृत्यु भएकी महिला र उनको घाइते छोराको भर्खरै पहिचान खुलेको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिबहादुर खड्का (दिनेश)ले जानकारी दिनुभयो ।

मृतक महिला गोकुलगंगा गाउँपालिका–४ बेताली जोगीडाँडाकी २८ वर्षीया रविना गजुमेर विक रहेकी छिन् । घाइते बालक उनकै ४ वर्षीय छोरा रविन रहेको खुलेको छ । ती बालकको अहिले केएमसी अस्पतालमा उपचार भैरहेको छ । बालकको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्वरको फोर्स गाडी आज दिउँसो करिव २ बजे गोकुलगंगा गाउँपालिका ६ फर्पु जिरोकिलोस्थित सिमलडाँडा भिरमा दुर्घटनामा परेको थियो ।

सो क्रममा गोकुलगंगा गाउँपालिका ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत, चालक मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की सहित ५ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये एक जनाको पहिचान हुन सकेको थिएन भने घटनास्थलबाट उद्धार गरी काठमाडौं पुर्याइएको बालकको पनि पहिचान हुन सकेको थिएन । १४ सिटे फोर्स गाडीमा ८ जना सवार रहेका थिए ।

घाइते तीन जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको र मृतक पाँचै जनाको शव पोष्मार्टमका लागि मन्थली अस्पताल पठाइएको रामेछाप प्रहरीले जनाएको छ ।