images
images

बागमती प्रदेशसभा सदस्यले आज सपथ ग्रहण गर्ने

  • १४ पुष २०७९, बिहीबार ०६:२२

हेटौंडा । बागमती प्रदेशसभाका सांसदले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

प्रदेशसभाका १ सय ९ जना सांसदलाई बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज दिउँसो २ बजे पद तथा गोपनियताको सपथ ग्रहण गराउनुहुने भएको हो । प्र्रदेश प्रमुख यादवचन्द्र शर्माले ज्येष्ठ सदस्य ढुंगानालाई शपथ गराउनुभएको थियो । नेकपा माओवादी केन्द्रका सांसद ढुंगाना जन्म मिती अनुसार प्रदेशसभाका १ सय १० सांसदमध्ये ज्येष्ठ सदस्य हुन् । बागमती प्रदेशसभाका १५ जना सदस्यहरुले भने मातृभाषामा शपथ लिने भएका छन् । १५ जनामध्ये ११ जनाले नेवारी र ३ जनाले तमाङ भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ । मातृभाषामा शपथ लिने प्रदेशसभा सदस्यहरुमा कांग्रेसका ३, एमालेका ४, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना रहेका छन् । १ सय १० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य रहेका छन् ।