images
images

दोलखा महोत्सव आजबाट सुरु हुँदै, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

  • १३ पुष २०८०, शुक्रबार ०७:५५

जिरी(दोलखा) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दोलखा आउनुहुने भएको छ ।

दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको १० दिने दोलखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज जिल्ला आउन लाग्नुभएको हो । ‘दोलखा महोत्सवको दिव्यदृटि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ नारासहित आजदेखि सुरु हुने महोत्सवको बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

उद्घाटन समारोहमा दोलखा जिल्लाका विभिन्न जातजाती, भाषाभाषी र समुदायहरूका कला–संस्कृति समेटिएको झाँकी प्रदर्शनीसहित बिहान १० बजे चरिकोट बजारको सातदोबाटो चोकबाट र्याली निकालिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्रीवितरण तथा प्रवर्द्धन गर्नेगरी १५० वटा स्टल राखिने छ । आयोजकका अनुसार सबै स्टलहरू बुकिङ भइसकेको छ । स्टलहरूमा दोलखाका सबै स्थानीय तहहरू, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरू, संघ संस्था, उद्योगी व्यवसायीका उत्पादन सामग्रीहरू प्रर्दशनीका लागि राखिने छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहने छ । यस्तै, चरिकोट टुडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिताहरू, विद्यालयस्तरीय प्रतियोगिताहरू दोलखा महोत्सवको आकर्षणका रूपमा रहने छ ।

महोत्सवमा साङ्गीतिक मनोरञ्जनका लागि कलाकार मिलन नेवार, राजनराज शिवाकोटी, एलिना चौहान, हरिबहादुर राउत, प्रीति आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाई, प्रताप दास, रमेशराज भट्टराई, हरिबहादुर लगायतका कलाकारहरु दोलखा आउनेछन् ।

अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यु इयर इभ’ का रूपमा मनाउने संसारभरको प्रचलन अनुसार दोलखा भ्रमणमा आउने पर्यटकको स्वागतका लागि पुस १५ गते चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गरिने छ । यो फेस्टिभलको नारा ‘सडकमै खाउँ, सडकमै नाँचौं, सडकमै रमाऔं’ राखिएको छ ।