हेटौंडा । केन्द्र सरकारले आवश्यक कानुन बनाएर अधिकार हस्तान्तरण नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका छन् ।
हिजोबाट सुरु भएको भेलामा मुख्यमन्त्रीहरुसँगै प्रदेश र स्थानीय तहका विज्ञहरू समेत सहभागी भएका छन् । उनीहरूबाहेक मुख्यमन्त्रीको छुट्टै बैठक पनि बस्दैछ । बैठकले केन्द्र सरकारलाई तत्काल अधिकार दिन माग गर्ने बुझिएको छ ।
संघीयता कार्यान्वयनमा आएको लामो समय भइसक्दा पनि महत्त्वपूर्ण कानुन नबन्दा प्रदेश सरकार अधिकार सम्पन्न हुन नसकेको मुख्यमन्त्रीहरूको गुनासो छ । यसअघि उनीहरुले संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न र अधिकार प्रत्यायोजन गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेटेर दबाब दिएका थिए । कानुन अभावमा कर्मचारी, प्रहरी, शिक्षालगायतका क्षेत्रका काम प्रभावित भएको मुख्यमन्त्रीहरूको भनाई छ । यसअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूले गत असारमा पोखरामा भेला गर्दै ६ महिनाभित्र अधिकार दिन माग गरेका थिए ।










