काठमाडौं । ललितपुरको बालाकुमारीमा जारी आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । यद्धपी उनको ठेगना भने खुलेको छैन । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले घाइते भएर अस्पताल पुर्याइएका राउतको उपचारका क्रममा मृत्यु भएको पुष्टि गर्नुभयो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । घटनामा केही आन्दोलनकारी घाइते भएका छन् ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।










