images
images

राप्रपाको सहायक महामन्त्रीमा खड्का र सहायक प्रबक्तामा थोकर मनोनित

  • १६ माघ २०७८, आईतवार १४:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सहायक महामन्त्री र सहायक प्रवक्तामा दोलखाका दुई जना नेताले जिम्मेवारी पाएका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज गरेको पदाधिकारी मनोनयनमा राप्रपा दोलखाका नेता बिजय खड्का सहायक महामन्त्री र प्रविणकुमार थोकर तामाङ सहायक प्रवक्तामा मनोनित भएका हुन् । राप्रपाको सहायक महामन्त्री हुने बिजय खड्का लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय नेता हुन् । दोलखाको बिगु गाउँपालिका लादुक स्थायी घर भएका खड्का यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको सदस्य र प्रवास विभागको प्रमुख भएर जिम्मेवारी निर्वाह गरेका थिए । राप्रपामा नेता खड्का युवा नेताहरु मध्ये लोकप्रिय नेता मानिन्छन् । राप्रपा अध्यक्ष लिङ्देनले ६ जना सहायक महामन्त्री मनोनित गर्दा नेता खड्का दोश्रो नम्बरमा परेका छन् । यस्तै अर्का नेता प्रविणकुमार थोकर तीन जना सहायक प्रवक्ता मध्ये पहिलो नम्बरमा परेका छन् । थोकर दोलखाको मेलुङ गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनले उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दस्याम गिरी तथा महामन्त्रीमा ओखलढुँगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हाद प्रसाद साहलाई मनोनित गरेका छन् ।

तस्वीरः राप्रपाको केन्द्रीय सहायक महामन्त्रीमा मनोनित दोलखाका नेता बिजय खड्का ।