
काठमाडौँ । छिमेकी राष्ट्र भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा भागदौड मच्चिदा ३० तीर्थयात्रीको मृत्यु भएको छ ।
हिजो भएको भागदौडका क्रममा ३० जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको हो । हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा डिआईजी वैभव कृष्णले ठुलो भीडका कारण व्यारिकेडहरु भत्किदा भागदौड मच्चिएको जानकारी दिनुभयो । उहाँका अनुसार ब्रम्ह मुहुर्तको पर्खाइमा रहेको भक्तजनहरुलाई भीडले कुल्चिएको थियो । घटना लगत्तै तत्काल उद्धार गरि ९० जनालाई अस्पताल पु¥याईएकोमा ३० जनाको मृत्यु भएको डिआईजी कृष्णले बताउनुभयो । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
घटनामा नेपाली भने नपरेको बताईएको छ । नेपाली नागरिक हताहती भएको कुनै जानकारी नआएको नेपाली काउन्सिलर एसएसपी सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । महाकुम्भ मेला दर्शनका लागि ठुलो संख्यामा नेपाली दर्शनार्थीहरु पनि प्रयागराज पुगेका छन् ।
६ साता लामो धार्मिक पर्वको शुभ स्नान दिनमध्य बुधबार मौनी अमावस्या रहेको थियो । सोही अवसरमा अमृत स्नानका लागि लाखौँ हिन्दु भक्तजन भेला भएका बेला घटना भएको भारतीय प्रहरीले जनाएको छ ।