images
images

संसदमा दलहरुको रणनीतिः सरकार फास्ट ट्रयाकको तयारीमा, अध्यादेशको विरोधमा विपक्षी दल

  • १७ माघ २०८१, बिहीबार १८:२५

काठमाडौँ । विपक्षी दलहरुले सरकारले संसद नरहेका बेला ल्याएका अध्यादेशको विरोध गर्ने भएका छन् ।

संसद अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो । विपक्षी दलको संयुक्त बैठकले अध्यादेश प्रतिस्थापन विद्येयकलाई फास्ट ट्रयाकमा पास गर्न नदिने रणनीति अघि सारेको छ । विपक्षी दलहरुले भोलीबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयमा एकमत भएर आवाज उठाउने बताएका छन् ।

आक्रामक रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र

विपक्षी दलको छुट्टा छुट्टै बैठकले पनि अध्यादेशको विरोध गर्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै संसदबाट खबरदारी गर्ने निर्णय गरेको छ ।

माओवादीले संसदको हिउँदे अधिवेशनमा आक्रामक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो । आज बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ। समितिमा रहेका विद्येयक फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

साथै बैठकले सरकार जनसरोकारका मुद्धामा चिन्तित नभएकाले जनताको मुद्धा उठाउने निर्णय पनि गरेको छ ।बैठकमा अध्यक्ष प्रचण्डले पार्टी निर्णय अनुसार संसदमा प्रस्तुत हुन सांसदहरुलई निर्देशन दिनुभएको छ ।

यस्तो छ, समाजवादीको निर्णय

प्रतिपक्षी दल एकिकृत समाजवादीले पनि अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा आज बसेको बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको हो । सरकारले अध्यादेशको नाममा कालोबजार ऐनलाई तोडमोड गरेर नाफा खान नपाउने ऐन खारेज गरेको एकिकृत समाजवादीको आरोप छ । एकिकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको सदन र सडक दुवैबाट विरोध जनाउने निर्णय पनि गरेको छ ।

के छ, सरकारको तयारी ?

यद्धपी सरकारसँग स्पष्ट बहुमत रहेकाले अध्यादेश अगाडी बढाउन सरकारलाई समस्या हुँदैन । संसद सचिवालयका अनुसार जारी अध्यादेश भोली नै सभामा पेश हुनेछ । संसदले स्वीकृत गरेपछि सरकारलाई अध्यादेश प्रतिस्थापन विद्येयक ल्याउने बाटो खुल्नेछ । सरकारले संसद नरहेका बेला ल्याएको अध्यादेश अधिवेशन सुरु भएको पहिलो दिन नै पेस गरि ६० दिनभित्र प्रतिस्थापन विद्येयक ल्याएर पारित गर्नुपर्ने व्यवस्था छ ।

सोही अनुसार सत्तारुढ दलहरुले पहिलो दिन अध्यादेश पेस गरेर माघ २४ गते निर्णयार्थ पेश गर्ने तयारी गरेका छन् । तर, अध्यादेश पेस हुँदा र निर्णयार्थ पेस हुँदा विरोध गरेर सरकारमाथि दबाब बढाउने विपक्षी दलहरुको तयारी छ । सरकारले माघ २४ गते अध्यादेश स्वीकृत गराएर तत्काल अध्यादेश प्रतिस्थापन विद्येयक ल्याएर त्यसलाई फास्ट ट्रयाकमा पास गर्ने तयारी गरेको छ । तर, अध्यादेश प्रतिस्थापन विद्येयकलाई पनि फास्ट ट्रयाकमा पास गर्न नदिने विपक्षी दलहरुको रणनीति छ ।