भक्तपुर । लामो समयदेखि चर्चा र विवादको केन्द्रमा रहेको बालश्रम सम्बन्धी मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा अन्ततः प्रहरीको नियन्त्रणमा परेकी छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई सोमबार काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । आफ्नै घरमा एक बालिकालाई राखेर श्रम शोषण गरेको गम्भीर आरोप खेपिरहेकी शर्माको यो विषयले राजनीतिक र सामाजिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ ।
यसअघि यो मुद्दालाई अगाडि नबढाउने गरी जिल्ला सरकारी वकिलको कार्यालयले रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयसम्म पुर्याएको भए तापनि चौतर्फी दबाब र कानुनी प्रक्रियाका बीच उनलाई पक्राउ गरिएको बुझिएको छ ।
बालिकाको उद्धार गर्ने क्रममा काठमाडौं महानगरपालिकाको नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरी टोलीले घटनास्थलमै पुगेर तयार पारेको मुचुल्कालाई यस घटनाको मुख्य प्रमाणका रूपमा हेरिएको छ ।
कानुन निर्माण गर्ने तहमा रहेकी व्यक्तित्व नै श्रम शोषण जस्तो संवेदनशील मुद्दामा तानिनुले सुशासन र कानुनी राज्यको उपहास भएको भन्दै सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ।










