काठमाडौं । बेपत्ता भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
हिजोदेखि बेपत्ता भएको जहाज आज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको नजिकैको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । अहिले नेपाली सेनाको टोली दुर्घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो ।
सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।










