काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बागमती प्रदेशका विभिन्न योजनामा बजेट वितरण गरेको छ ।
सरकारले बागमती प्रदेशमा रहेका रुग्ण उद्योग सञ्चालन देखि सडक सञ्जाल तथा सुरुङमार्ग निर्माणमा बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले प्राथमिकतामा राखेको भनिएका योजनालाई केन्द्र सरकारले बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा आगामी आर्थिक वर्ष हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने बताउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षमा मकवानपुरको कर्रा खोलाको कटान र बस्ती डुवान रोक्न कारिडोर निर्माण गर्ने घोषणा गरेको छ । हेटौंडा उपमहानगरपालिकामा पर्ने कर्रा खोलामा करिडोर निर्माण गरी बस्ती विकास गर्ने सरकारको बजेटमा उल्लेख छ । यसैगरी आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारले घोषणा गरेको छ । मरिणलाई संस्कृति र प्राचीनता झल्कन गरी नयाँ शहरको रुपमा विकास गर्ने व्यवस्था मिलाएको हो ।
यता काभ्रेपलाञ्चोको बनेपामा इन्डोर स्टुडियो गर्ने घोषणा गरेको छ । सरकारले बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डाइलासिस सेवा सञ्चालन गर्ने भएको छ । त्यसका लागि सबै प्रादेशिक अस्पताललाई १० करोड रुपैँया उपलब्ध गराउने सरकारले घोषणा गरेको हो । यस्तै बागमती प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक पनि सथापना गर्ने भएको छ । बागमती प्रदेशमा गठबन्धन नेतृत्वको सरकारले न्युनतम साझा कार्यक्रममा राखेको तीन वटा सुरुङमार्ग निर्माणका कार्यक्रमका लागि केन्द्र सरकारले बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शर्माले मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग तथा धादिङ र चितवनलाई जोड्ले हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने घोषणा गर्नुभएको छ ।
सरकारले धादिङको बेल्कुमा ट्रमा सेन्टर निर्माणको घोषणा गरेको छ। चितवन शारदानगर र काभ्रेको पाँचखालमा निर्माणको क्रममा रहेको खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ भने चितवनको शक्तिखारमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ।