images
images

पत्रकार खतिवडालाई रवीन्द्र स्मृति पुरस्कार

  • १६ जेष्ठ २०८०, मंगलवार १५:०९

दोलखा । कोरोना महामारीका कारण ज्यान गुमाएका पत्रकार रवीन्द्र गौतमको सम्झनामा आज दोस्रो स्मृतिसभा आयोजना गरिएको छ ।

रवीन्द्र गौतम स्मृति प्रतिष्ठानले स्वर्गीय गौतमको दोस्रो स्मृतिसभा आयोजना गरेको हो । सदरमुकाम चरिकोटमा आयोजित सभामा स्वर्गीय गौतमको तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्मृति सभाको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडालाई रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । नगद १० हजार र सम्मानपत्र सहित खतिवडालाई सम्मान गरिएको हो । खतिवडा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

स्मृति सभामा कालिञ्चोक माविमा कक्षा ११ मा पत्रकारिता विषय अध्ययन गरिरहेकी छात्रा सर्मिला खातीलाई पनि नगद १० हजार सहित सम्मान गरिएको थियो । अति विपन्न र जेहेन्दार छात्रालाई पत्रकारिता अध्ययनमा उत्प्रेरणा जगाउनका लागि सो रकम हस्तान्तरण गरिएको रवीन्द्र गौतम स्मृति प्रतिष्ठानकी संरक्षक भवानी खड्का गौतमले जानकारी दिनुभयो । रवीन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

स्वर्गीय गौतमका परिवारले प्रतिष्ठान स्थापना गरेपछि आज पहिलो पटक यो पुरस्कार वितरण गरेका हुन् । नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्य समेत रहेका गौतमको २०७८ साल जेठ १६ गते ३८ वर्षको अल्पायुमै कोरोना संक्रमणका कारण निधन भएको थियो । स्वर्गीय गौतमका आमा, श्रीमति र दुई छोरी रहेका छन् ।