
धनगढी । कैलालीमा अत्याधिक गर्मीका कारण एक युवकको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय ईन्द्रबहादुर रानामगरको मृत्यु भएको हो । बर्दियाबाट बसमा घर फर्किरहेका रानामगरको बसभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । से १ ख ८१० नम्बरको बसमा सवार मगर एकैछिन आराम गर्न भन्दै बसमै सुतेका थिए । बस हसुलिया बसपार्क पुगेपछि हेर्दा उनलाई सुतेकै स्थानमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको गर्मीपछि हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ ।
धनगढीको तापक्रममा रेकर्ड ब्रेक
सुदुरपश्चिम प्रदेशमा केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण जजजीवन कष्टकर बनेको छ । गर्मीसँगै तातो हावा चलेपछि जनजीवन कष्टकर बनेको हो । सुदुरपश्चिमको राजधानी धनगढीमा आज यो वर्षकै उच्च तापक्रम मापण गरिएको छ । लगातार बढिरहेको धनगढीको तापक्रम आज ४४ दशमलव १ डिग्री सेल्सियस पुगेको हो । धनगढीले आज तापक्रममा रेकर्ड ब्रेक गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हिजो दिउँसो ४३ दशमलव ३६ डिग्री रहेकोमा आजै रेकर्ड तोडिएको हो । आज मापन गरिएको तापक्रम यो वर्षकै सबैभन्दा उच्च रहेको मौसम विज्ञान विभागले जनाएको छ । यसअघि भैरहवामा यो वर्षकै सबैभन्दा बढि ४३ दशमलव ६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।
गर्मीले जनजीवन कष्टकर बन्दै गएपछि कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयहरु केही समयका लागि वन्द गरिएको छ । धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका विद्यालयहरुलाई एक साता वन्द गर्न निर्देशन दिएको छ । अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्रका सबै विद्यालयहरुलाई वर्षे विदाबाट कट्टा हुनेगरि १८ गतेदेखि २४ गतेसम्म बन्द गर्न पत्रचार गरिएको हो ।
काठमाडौँमा पनि बढ्यो तापक्रम
लगातारको गर्मीसँगै काठमाडौँको पनि तापक्रम बढेको छ । काठमाडौँमा आज दिउँसो अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस पुगेको छ । यसअघि आजै ३३ डिग्री रेकर्ड गरिएको काठमाडौँको तापक्रम बढेर ३४ डिग्री पुगेको मौसम विज्ञान विभागले जनाएको छ ।