
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
कांग्रेस र एमालेको गठबन्धनमा साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले सरकार सुरक्षित गर्ने उद्धेश्यले संसदवाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीको विश्वासको मतकालागि आज दिउँसे ३ बजे प्रदेशसभाको बैठक आव्हान गरिएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत सम्वन्धी प्रस्तावमाथि छलफल सहित निर्णय हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
मुख्यमन्त्री लामाले नेपालको संबिधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदवाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने व्यवस्था रहेको छ ।
मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री लामाले आफुलाई विश्वासको मत दिन बागमती प्रदेशसभाका सवै दलहरुलाई पत्राचार गरेका छन् ।