दोलखा । नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले आगामि संघ र प्रदेशको निर्वाचनमा पुराना र नयाँ अनुहार दुबै उम्मेदवार बन्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनलाई परास्त गर्न निर्वाचन जित्ने प्रशस्त आधारहरु भएमा नयाँ अनुहार पनि आउन सक्ने सम्भावना बलियो रहेको बताउनुभयो । नेकपा एमालेका पोलिटव्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङमध्ये संघमा कसले टिकट पाउला भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले आफुहरुले मत सर्वेक्षण गर्ने र सोही आधारमा जनताको चाहनाबमोजिम दुई नेता वा नयाँ अनुसार पनि आउन सक्ने सम्भावना दुबै रहेको धारणा राख्नुभयो । मत सर्वेक्षणले पुराना नेताले निर्वाचन जित्ने आधार नदेखेमा गठबन्धनलाई परास्त गर्न सक्ने नयाँ पुस्ताका नेताहरुलाई उम्मेदवार बनाउन नेकपा एमालेले कन्जुस्याईँ नगर्ने उहाँको भनाई छ । अध्यक्ष श्रेष्ठले पाँच दलीय गठबन्धनलाई टार्गेट गरेर पुराना वा नयाँ पुस्तामध्येका शसक्त, जनताको मन मस्तिष्कमा भएको र चर्चित अनुहारलाई उठाउने दाबी गर्नुभयो ।
नेकपा एमालेले पार्टीभित्रकै अन्तर्घातका कारण निर्वाचनमा पराजय व्यहोर्नुपरेको भन्दै उहाँले जिल्ला कमिटी सदस्यहरु समेत नोटिसमा रहेको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले पार्टीले गठन गरेको छानविन कार्यदलले यही भदौ १५ गतेभित्र प्रतिवेदन पेश गर्ने र सोही आधारमा पार्टीलाई अन्तरघात गरेको पुष्टि भए क्षमा दिन नसक्ने धारणा राख्नुभयो । उहाँले जानिजानि अन्तरघात गर्नेलाई पार्टी सदस्यबाट निश्काषन गर्ने र जिम्मेवारीबाट मुक्त गर्ने सम्मको कारवाही हुने बताउनुभयो । नेकपा एमालेको संगठन सुदृढिकरण तथा सुद्धिकरण अभियान यही भदौ १५ गते सकिँदैछ ।











