images
images

किन चार दिनमै रोकिदैछ ? चलचित्र राधाको प्रदर्शन

  • १४ भाद्र २०७९, मंगलवार १७:११

शुक्रबार प्रदर्शनमा आएको नेपाली फिल्म, राधाको प्रदर्शन आजदेखि रोकिने भएको छ।

दर्शकको उपस्थिति राम्रो हुँदाहुँदै पनि लगातार शो घटाएपछि निर्माण टोलीले अहिलेका लागि फिल्मको प्रदर्शन नै रोक्ने निर्णय गरेको हो। आकस्मिक पत्रकार सम्मेलन गर्दै  निर्माण टोलीले फिल्मको प्रदर्शन रोक्ने जानकारी दिएको हो। पहिलो दिन कुल ४१ शो पाएकोमा तीजको दिनसम्म आइपुग्दा फिल्मको शो घटेर १५ पुगेको थियो। शनिबारदेखि शो थप हुने शर्तमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मको शो लगातार घटाउँदै लगिएको निर्माण पक्षले जनाएको छ। निर्माता देवकी विष्टले फिल्म नै नहेरी फिल्मका बारेमा नकारात्मक टिप्पणी गरिएको र दर्शकको उपस्थिति राम्रो हुँदाहुँदै पनि हलवालाले शो घटाएर दर्शक फर्काएको आरोप लगाएकी छन्।

अहिले फिल्मको प्रदर्शन रोक्नु फिल्मको लगानीमा जोखिम मोल्नु भए पनि आफूहरूमाथि भएको राजनीतिका कारण फिल्म हलबाट उतार्न लागेको निर्माता बिष्टले जिकिर गरेकी छन्। साथै फिल्मको लगानीका लागि ओटिटी लगायतका अन्य विकल्प खोजिने पनि उनले जनाएकी छन्।

तीजको अवसर पारेर प्रदर्शनमा ल्याइएको नारी केन्द्रीत कथामा आधारित फिल्मको शो तीज पर्वका दिन झन् घटाइएपछि निर्माण टोली असन्तुष्ट भएको हो। फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको थियो।

सुवर्ण थापाको लेखन तथा निर्देशनमा बनेको फिल्म आफ्ना पतिको प्रतीक्षामा रहेकी पात्र राधाको कथामा आधारित छ। फिल्ममा सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा देखिएकी छन् भने सौगात मल्ल, खगेन्द्र लामिछाने, लोकेन्द्र लेखक, बुद्धि तामाङ, मेनुका प्रधान, निश्चल बस्नेत, पशुपति राई लगायतका कलाकारको अभिनय रहेको छ।