सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बोलेरो र मोटसाइकल आपसमा ठोक्किदाँ दोलखाका एकसहित २ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ का ३० वर्षिय सान्त बहादुर जिरेल र बोलेरो चालक काभ्रेको बनेपा नगरपालिकाका ३५ वर्षिय राजकुमार थापा घाइते भएका हुन् । जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर ९ सुुकुटे स्थित बोलेरो र मोटसाइकल आपसमा ठोक्किदाँ उनीहरु घाइते भएका हुन् । आज दिउँसो बाह्रबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको बा २१ च १२२८ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउदै गरेको बा ८१ प ९०९९ नम्बरको मोटसाइकल आपसमा ठोकिँएर दुर्घटना भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । घाइते उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । उनीहरुको अवस्था मध्यम रहेको छ ।










