images
images

दोलखाको दुई सहित आधा दर्जन बढी हाइड्रोपावर कम्पनी हकप्रद शेयर निष्कासनको तयारीमा

  • १४ भाद्र २०७९, मंगलवार २०:५४

दोलखास्थित दुई हाइड्रोपावर कम्पनी सहित आधा दर्जन बढी हाइड्रो कम्पनी हकप्रद शेयर निष्कासनको लाइनमा छन् ।

दोलखाका दुई सहित धेरै कम्पनीहरु हकप्रद शेयर निष्कासनको तयारीमा रहेका हो । केही कम्पनीले हकप्रद निष्कासन गर्न साधारणसभाबाट प्रस्ताव पारित गराइ नियामक निकायसम्म पुगेका छन् । अहिले बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले हकप्रद बिक्री गर्न रोकेको बेला हाइड्रोपावर कम्पनीहरुले भने धमाधम हकप्रद शेयर जारी गर्न लागेका छन् । हाइड्रोपावर कम्पनीले अन्य परियोजनामा लगानी गर्नको लागि पूँजी जुटाउन हकप्रद शेयर जारी गर्न पाउछन् । जसले गर्दा पनि पछिल्लो समय हाइड्रोपावर कम्पनीकै हकप्रद शेयर धेरै बिक्रीमा आएका छन् ।

दोलखास्थित अपर तामाकोशी हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । ४५६ मेगावाट क्षमताको हाइड्रोपावरले १ बराबर १ शेयरको अनुपातामा हकप्रद निष्कासन गर्नको लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेको छ भने नियामक निकायसँग अनुमति माग्ने तयारीमा छ । हिमाल दोलखा हाइड्रोपावरले पनि चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । सो हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न भदौ १९ गते साधारणसभा आव्ह्वान गरेको छ । यसैगरी, अरुण कावेली हाइड्रोपावर पनि हकप्रद निष्कासनको लागि अन्तिम तयारीमा छ । बरुण हाइड्रोपावरले अहिले शत प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि नियामक निकायबाट पनि स्वीकृति लिई निष्कासन गरिरहेको छ ।

सो हाइड्रोपावरले १ बराबर १ शेयरको अनुपातामा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गरिसकेको छ । यसैगरी, नेश्नल हाइड्रोपावरले पनि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले १ बराबर ०.५० कित्ता शेयरको अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न भदौ १७ गते शुक्रबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर बिक्रीमा ल्याउने छ ।

यस्तै अरुण भ्याली हाइड्रोपावरले पनि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको छ । राधी विद्युतले पनि १४७.५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युतले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन लागेको हो । ङादी ग्रुप पावरले केहि दिन अघि मात्रै १५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । कम्पनीले साउन १८ गतेदेखि १ बराबर १.५ शेयरको अनुपातमा १ करोड ६ लाख ३ हजार ९८३ कित्ता शेयर बिक्री गरेको हो ।