काठमाडौं । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ ।
खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपाली टोलीले रोहित पौडेलको कप्तानीमा र पाकिस्तानी टोलीले बाबर आजमको कप्तानीमा खेल खेल्नेछन्् । नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि हात पारिसकेको छ । मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ । आजका सबै टिकट बुकिङ भइसकेकोले दर्शकको भिडले खेल अझ रोचक हुने भएको छ । पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ ।
नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्नेछ । एसिया कप यही भदौ ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र बाँकी ९ खेल श्रीलंकामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ ।