दोलखा । दोलखाको विगु गाउँपालिकामा ९ दिनमा २ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
विद्युत प्राधिकरण र उपभोक्ता स्वयमको लापरबाहीका कारण करेन्ट लागेर ज्यानै जाने घटना भएको हो । छुट्टा छुट्टै स्थानमा भएका दुई घटनामा एक युवक र एक वृद्धको मृत्यु भएको छ । मंगलबार मात्रै विगु गाउँपालिका–१ लामाबगरका ७१ वर्षीय वृद्ध रामकुमार श्रेष्ठको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । श्रेष्ठलाई चिउरीको घाँस काट्ने क्रममा करेन्ट लागेको थियो ।
यसअघि भदौ ३ गते विगु–७ आमाडोलका २९ वर्षीय सुमन खड्काको पनि करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरमा बत्ती बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका खड्काको सदरमुकाम चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । विगु ७ का वडा सदस्य धनबहादुर मगरका अनुसार घरमा बत्ति बिग्रिएपछि बनाउने क्रममा खड्कालाई करेन्ट लागेको थियो ।
उक्त घटना घटनुमा घरमा गरिएको कमजोर वायरिङ र खड्काको असावधानि प्रमुख कारण मानिएको छ । मंगलबार करेन्ट लागेर श्रेष्ठको मृत्यु हुनुमा विद्युत प्राधिकरणको लापरवाही भएको स्थानीयले आरोप लगाएका छन् । ग्रामिण क्षेत्रमा टाँगिएका विद्युतीय तारलाई रुख र झाडीले छोएर ‘विद्युतीय धराप’मा परिणत हुँदा समेत प्राधिकरणले वेवास्ता गरेको स्थानीय बासिको भनाई छ ।
घरमा गरिएको कमजोर वायरिङ र खड्काको असावधानि प्रमुख कारण मानिएको छ भने मंगलबार करेन्ट लागेर श्रेष्ठको मृत्यु हुनुमा विद्युत प्राधिकरणको लापरवाही भएको स्थानीयले आरोप लगाएका छन् । करेन्ट लागेर घाईते तथा मृत्यु भएकालाई क्षतिपुर्तिको व्यवस्था भएपनि आफ्नै घरमा करेन्ट लागेको अवस्थामा भने राहत दिने व्यवस्था नरहेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको घटनाको प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराईसकेको र केन्द्रबाट आउने दुर्घटना जाँचबुझ टोलीको स्थलगत निरिक्षणपछि मात्रै राहत क्षतिपुर्ति लगाएतका प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । उहाँका अनुसार सिंगटी युनिटको टोलीले घटनास्थल मै पुगेर निरिक्षण गरेर आएको र केन्द्रको टोलीले निरिक्षण गरि घटनाको कारण एकिन गरेपछि आवश्यक देखिएमा राहत प्रदान गरिनेछ ।
करेन्ट लागेर घाईते तथा मृत्यु भएकालाई क्षतिपुर्तिको व्यवस्था भएपनि आफ्नै घरमा करेन्ट लागेको अवस्थामा भने राहत दिने व्यवस्था नरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तार चुँडिएर, पोल ढलेर वा चुहावटका कारण तथा प्रसारण लाईनमै समस्या भएर करेन्ट प्रवाह भएको अवस्थामा मानिसको मृत्यु वा घाईते भएमा राहतको व्यवस्था गरिएको छ ।
सोही अनुसार मृतकका परिवारलाई ५ लाखसम्म क्षतिपुर्ति र घाईतेको हकमा उपचार खर्च व्यहोर्ने व्यवस्था रहेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका लेखापाल माधव प्रसाईले जानकारी दिनुभयो ।