images
images

नक्कली ईन्स्पेक्टर बनेर सुन र नगद लुटपाट गर्ने युवक यसरी पुगे हिरासतमा

  • १४ भाद्र २०८१, शुक्रबार १७:४५

काठमाडौँ । नक्कली प्रहरी निरिक्षक (ईन्स्पेक्टर) बनेर लुटपाट गर्ने नुवाकोटका युवक पक्राउ परेका छन् ।

ईन्सपेक्टर भएको भन्दै ठगी र लुटपाटमा संलग्न नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ का २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ पक्राउ परेका हुन् । तामाङले प्रहरी वृत्त स्वयम्भुको सादा पोशाकको प्रहरी ईन्स्पेक्टर भएको भन्दै लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तामाङले आफु ईन्स्पेक्टर भएको भन्दै साउन २२ गते काभ्रेपलाञ्चोक घर भई डल्लु बस्दै आएका तीर्थलाल तामाङसँग १ तोलाको सुनको सिक्रि र ६७ हजार लुटपाट गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो । लुटपाट लगत्तै तीर्थबहादुरले दिएको उजुरीका आधारमा तामाङ पक्राउ परेका हुन् ।

तामाङसँगै बाग्लुङको काठेखोला गाउँपालिका २ का ६३ वर्षीय बलबहादुर सुनार पनि पक्राउ परेका छन् । उनीहरु दुवै जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । लुटपाट गरेको सिक्रि बलबहादुरलाई बेचेको पाईएपछि उनलाई पनि पक्राउ गरिएको हो । उनी सुनचाँदी व्यवसायी हुन् । तामाङले नक्कली ईन्स्पेक्टर बनेर अन्य व्यक्तिलाई पनि लुटपाट गरेको भन्दै ८ वटा उजुरी परेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।