
काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिले निरन्तरता पाउने भएको छ ।
सर्वाेच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश आज खारेज गरेको हो । सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त ईजलासले सरकारको भ्याकेट निवेदनमा माग भए अनुसार ६ भदौमा न्यायाधीश फुँयालको एकल ईजलासले गरेको अन्तरिम आदेश खारेज गरेको हो ।
सर्वाेच्चको यो आदेशसँगै नेपाल प्रहरीका नायब महानिरिक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जना एकैसाथ अवकाश हुने भएका छन् । उनीहरु आजैबाट अवकाशमा गएका छन् । भोली बिदा भएको र आईतबारदेखि ३० वर्षे सेवा हद लाग्ने भएकाले उनीहरुको सेवा अवधि सकिएको हो ।
प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि, उमेर हद र कार्य अवधिमध्य जुन पहिले आउछ सोही व्यवस्था अनुसार अनिवार्य अवकाश दिने व्यवस्था छ । जसअनुसार ८९ प्रहरी ३० वर्षे सेवा अवधि पूरा भएका कारण अवकाश हुने भएका हुन् ।