images
images

मुलुकभरका ३ हजार ६५ मतदानस्थल अति संवेदनशील सुचीमा

  • १४ आश्विन २०७९, शुक्रबार ०७:३६

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सुचीमा राखेको छ ।

गृह मन्त्रालयले मुलुकभरका १० हजार ८ सय ९१ मतदानस्थलमध्ये ३ हजार ६५ मतदानस्थललाई अति संवेदनशील सुचीमा राखेको हो । सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सुचीमा राखिएको हो । ४ हजार ४ सय ७८ मतदातस्थनलाई संवेदनशील र बाँकी ३ हजार ३ सय ४८ लाई सामान्यको सुचीमा राखेको गृह मन्त्रालयले जनाएको छ ।जिल्लाहरुबाटै आएको रिपोर्टका आधारमा सुरक्षा संवेदनशीलता मुल्याकंन गरेर वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेलले जानकारी दिनुभयो । यस्ता मतदानस्थलमा न्युनतम तीन नेपाल प्रहरी र ९ जना म्यादी प्रहरी खटिनेछन् । झैझगडा हुने सम्भावना भएका विगतमा बुथ लुटिएका, भारतसँगको सीमा क्षेत्रका तथा अति दुर्गम क्षेत्रका मतदान स्थल अति संवेदनशीलको सुचीमा छन् ।

यसैबिच, निर्वाचनमा दुई लाख ९४ हजार सुरक्षाकर्मी खटिने भएका छन् । गृह मन्त्रालयले स्वीकृत गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विशेष सुरक्षा योजना, २०७९ एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरीको साढे ७९ हजार मध्ये ७१ हजार ६ सय ९३ जनशक्ति खटिनेछन् भने सशस्त्र प्रहरीबाट ३५ हजार १ सय १६, राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९ सय २१ र बाँकी सेनाबाट खटिनेछन् । १ लाख १५ हजार म्यादी प्रहरीको भर्र्ना प्रक्रिया चलिरहेको छ ।