images
images

भक्तपुरमा सवारी दुर्घटनाः विगुका बालकको मृत्यु, बुवा घाईते

  • १३ कार्तिक २०७९, आईतवार १६:०८

काठमाडौं । भक्तपुरमा सवारी दुर्घटनामा परी दोलखाको विगु गाउँपालिकाका एक बालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी विगु गाउँपालिका वडा नम्बर ६ खोपाचागु घर भई काठमाडौंको बौद्धमा बस्दै आएका ढावा शेर्पाका ६ वर्षिय छोरा आर्जन शेर्पाको मृत्यु भएको हो । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको कार, मोटरसाइकल र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा शेर्पा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालक मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परी गम्भिर घाईते भएका मोटरसाइकल चालक ढावा शेर्पाको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता, डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुर जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको थियो । घटना लगत्तै प्रहरीले बस र कार चालकलाई नियन्त्रणमा लिएको छ ।