images
images

निर्वाचन आयोगमा ३ जिल्लाको उजुरी, दोलखामा निर्वाचन दोहोरिँदा दुई जिल्लामा मत गन्न आदेश

  • १४ मंसिर २०७९, बुधबार १६:५२

जिरी (दोलखा) । दोलखासहित तीन जिल्लाको विभिन्न स्थानमा पुनः मतदानका लागि निर्वाचन आयोगमा उजुरी परेपनि दोलखामा मात्रै निर्वाचन दोहोरिएको छ ।

बुथ कब्जा भएको र निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन नभएको भन्दै निर्वाचन आयोगमा दोलखा, बाजुरा र स्याङजाबाट उजुरी परेपनि आयोगले दोलखालाई मात्रै पुनः मतदान गर्न निर्देश गरेको हो । दोलखा, बाजुरा र स्याङजामा निर्वाचनमा धाँधली भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी दिएपनि दोलखामा मात्रै निर्वाचन दोहोरिएको छ । निर्वाचन आयोगले दोलखाको दुई स्थानीय तहको १० वटा मतदान केन्द्रमा निर्वाचन गराउन निर्देशन दिएपछि भोली मतदान हुँदैछ । तर, सोही प्रकारका घटनामा आयोगले बाजुरा र स्याङजा २ मा पुनः मतदान नगर्ने र मतगणना गर्न भनेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालले स्याङजाको चापाकोट नगरपालिकाका ३, ४ र ५ नम्बर वडामा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै पुनः निर्वाचन गर्न भन्दै निवेदन दिएको थियो ।

चापाकोट नगरपालिकाका ३, ४ र ५ वडाहरुमा बुथ कब्जा गरी कांग्रेसले मृत्यु भएका र विदेशमा रहेका मतदाताको समेत ९८ प्रतिशत फर्जी मत खसालेको एमालेले आरोप लगाउँदै आएको थियो । निर्वाचन भएको ११ दिन सम्म पनि मतगण्ना सुरु नभएपछि नेपाली कांग्रेसले तत्काल गणना हुनुपर्ने भन्दै दैनिकजसो धर्ना दिँदै आएको थियो । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेकी सचिव पद्यमा अर्याल उम्मेदवार छन् ।

यसैगरी, बाजुरामा पनि राजनितिक दलको विवादका कारण मतगणना सुरु हुन सकेको थिएन । नेकपा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न नभएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको थियो । तर, आज आयोगमा बसेको आयुक्तहरुको बैठकले बाजुरा र स्याङजा २ मा तत्काल मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । दोलखाबाट पनि नेकपा एमाले दोलखाले गठबन्धनले बुथ कब्जा गरेको भन्दै उजुरी गरेपछि केही दिन अघि मात्रै आयोगले सो उजुरीको फैसला गरेको थियो ।

भोली बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख, वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्र र तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० मतदान केन्द्रमा मतदान हुँदैछ ।