images
images

रामेछापमा आजदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु

  • १४ मंसिर २०७९, बुधबार १८:१३

जिरी (दोलखा) । रामेछापमा आजदेखि राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको छ ।

जिल्लाको मन्थली नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु भएको हो । सो अभियान आज मन्थली नगरपालिकाका १४ वटै वडामा एकसाथ सुरु गरिएको छ । परिचयपत्र बनाउन केन्द्रमा खटिएर आएका कर्मचारी टोलीले १४ वटा वडामा पुगी सो अभियान एकै साथ सुरु गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले सबै वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउनेलगायतका कामहरु थालनी गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापवाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम गरिन्थ्यो । तर, अब सबै पालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान सञ्चालन हुनेछ ।

जिल्ला प्रशासन कार्यालयमा थालनी भएदेखी हालसम्म जिल्लामा २१ हजार ५ सय जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने र व्यक्तिगत विवरण फाराम भरेका छन् । विवरण भरेका सवै नागरिकको परिचयपत्र हालसम्म जिल्लामा आइनसकेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । यसअघि प्रशासन कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्रका लागि विवरण भरिसकेकाको तत्कालै परिचयपत्र आउने कार्यालयले जनाएको छ । कार्यालयमा विवरण भरेका बाहेकका सवै नागरिकहरुको परिचयपत्रको लागि अहिले वडास्तरमा कर्मचारी सहित विवरण भर्ने टोली परिचालन गरिएको छ । जिल्लाका वडा स्तरमा खटिएका टोलीले वडा स्तरमा र आवश्यकता अनुसार अन्य स्थानमा समेत बसेर नागरिकता प्रमाणपत्र प्राप्त गरिसकेका सवै नागरिकको राष्ट्रिय परिचयपत्रको लागि विवरण भर्ने छन् ।

रामेछापको आठ वटा स्थानिय तहका ६४ वटा वडामा करिब ३ महिनामा विवरण भरी सक्ने लक्ष्य लिएको जिल्ला प्रशासन कार्यालय रामेछापले लिएको छ ।