images
images

काभ्रेपलाञ्चोकमा मोटरसाईकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाईते

  • १४ मंसिर २०८०, बिहीबार १५:४१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

दुर्घटनामा परी काठमाडौं महानगरपालिका–११ की ६१ वर्षीया बिन्दा गिरीको मृत्यु भएको हो । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेशीस्थित विपी लोकमार्गमा आज दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२४ प ४०९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नम्बरको बसले ठक्कर दिएकोे थियो । सो दुर्घटना हुँदा मोटरसाइकल सवार गिरी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी बिन्दाको श्रीमान ज्ञानराज गिरी भने घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस, बस चालक र मोटरसाईकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।