रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले वडाध्यक्षको निधनमा भोली शोक विदा दिएको छ ।
हिजो दुर्घटनामा परि मृत्यु भएका गोकुलगंगा–४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतको निधनमा पालिकाले भोली शोक विदा दिएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र भण्डारीद्धारा हस्ताक्षरित सूचनामा भोली आइतबारका दिन गोकुलगंगा गाउँपालिकाको कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु तथा शैक्षिक संस्थामा समेत शोक विदा दिने निर्णय भएको उल्लेख छ ।
काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्वरको फोर्स गाडी हिजो दिउँसो करिब २ बजे गोकुलगंगा गाउँपालिका–६ फर्पु जिरोकिलोस्थित सिमलडाँडा भिरमा दुर्घटना हुँदा वडाध्यक्ष बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
वडाध्यक्ष बस्नेत २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रसबाट गोकुलगंगा–४ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।