images
images

एनपिएल हेर्न पुगेका दर्शकबीच झडप, एक प्रहरी गम्भीर घाईते

  • १५ मंसिर २०८१, शनिबार १८:४८

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरुबीच धकेला धकेल हुँदा दुई प्रहरी सहित आधा दर्जन बढि घाईते भएका छन् ।

एनपीएल हेर्न त्रिवि मैदान पुगेका दर्शकसँग धकेला धकेलपछि भएको झडपका क्रममा दुई प्रहरी जवान घाईते भएका हुन् । संघीय संसद सुरक्षा बेस, नयाँ वानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दानबहादुर राउत घाईते भएको काठमाडौँ प्रहरि परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

तामाङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि वीर अस्पताल रिफर गरिएकोमा त्यहाँबाट पनि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको छ । अर्का प्रहरी जवान राउतको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भईरहेको छ । उनको भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको खेल हेर्न पुगेका दर्शकबीच धकेलाधकेल हुँदा केही बेर झडपको अवस्था सिर्जना भएको थियो ।

सात जना दर्शक घाइते

गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना दर्शक पनि घाइते भएका छन् । धकेलाधकेल हुँदा सात जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यलय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।

आजदेखि सुरु भएको एनपिएल क्रिकेटमा सुरक्षा व्यवस्थापनका लागि कीर्तिपुरमा३ सय ८४ जना प्रहरीको टोली खटाईएको थियो ।