
जिरी (दोलखा) । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको संसदीय दलको नेता आज चयन गर्ने भएको छ ।
काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने तयारी भएको हो । दलका नेतामा यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल र माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल मुख्य दावेदार रहेका छन् । उनीहरु मुख्य दावेदार भएपनि युवराज दुलाल ‘शरद’, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको निर्वाचन चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठले पनि दावी गरिरहेका छन् ।
मुख्य दावेदार पार्टी पोलिटब्युरो सदस्य जम्कट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ–आफ्नो दाबी छोडेका छैनन् । दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।
दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ । बागमतीमा माओवादीबाट कुल २१ सांसद रहेका छन् ।