images
images

नबाँचिने भएपछि कम्बोडियाबाट छोरालाई भिडियो कल, बाबा ‘अलवेज लभ यु’ बाबु, मामुलाई धेरै माया गर्नु

  • १५ पुष २०७९, शुक्रबार १६:३४

कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका एक पुरुषको मृत्यु भएकोे छ ।

कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा आगलागी हुँदा झापा बिर्तामोड १ का ४० वर्षीय निराकर पाण्डेको मृत्यु भएको हो । बुधबार राती भीषण आगलागी हुँदा १२ औं तल माथिबाट हाम फाल्ने क्रममा उनको मृत्यु भएको आफन्तजनले बताएका छन् । क्यासिनोमा आगलागी भएको थाहा पाएपछि पाण्डेले आफ्नो अन्तिम इच्छा पुरा गर्न आफ्नो घरपरिवारलाई फोन गरेका थिए । घण्टौँसम्म आगो नियन्त्रणमा नआउँदा सोही भवनमा फसेका उनले होटेलबाट हाम फाल्नुअघि परिवारजनसँग भिडियो कुराकानी गरेका थिए ।

हाम फाल्नुअघि यसरी भएको थियो बालक छोरासँग मनछुने संवाद

उनले बोलेको भिडियो कुराकानीमा आफ्ना ९ वर्षीय छोरा आर्मनलाई सम्झाउँदै भनेका छन्, बाबु मेरो आँखाको नानी । म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ यु ।  बाबाले तिमीलाई सधैँ सम्झिनुहुन्छ है बाबु । आर्मन इज द वेस्ट है बाबु ।
त्यसपछि उनले भने, बाबु  मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू  । लमजुङका बुबा मामुलाई माया गर्नू सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’कसैलाई चिट गर्नुहुँदैन, फ्रड गर्नुहुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है । विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु । तिमीले माइजूहरूलाई चित्त नदुखाइदिनु । उहाँहरूले धेरै गर्नुभएको छ । लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठुलो मान्छे बन्नू । ज्ञानी हुनु । उनले भने, अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ म भन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नू है बाबु ।’ उनले आफ्नो छोरोलाई परिवारजनका अन्य सदस्य र आफन्तलाई माया र इज्जत गर्न भनेका छन् । आगलागी भएपछि उनले गरेको त्यो कल नै अन्तिम कल भएको पारिवारिक स्रोतले जनाएको छ ।

सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु हुनुको साथै ६० जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पाण्डेको सवलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।