जिरी(दोलखा) । दोलखाको जिरी अस्पतालमा एक जना बिरामीलाई म्याद गुज्रेको स्लाइन चलाएको विषयलाई लिएर नगरपालिकाले छानविन समिति गठन गरेको छ ।
उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन भएको हो । समितिको सदस्यहरुमा जिरी नगरपालिकाका वडा –३ का अध्यक्ष खेटराज घिमिरे, वडा– ४ का अध्यक्ष पदेमान जिरेल र वडा नम्बर ७ का अध्यक्ष शान्ता नेपाली, जनस्वास्थ्य अधिकृत केशव दाहाल, प्रशासन अधिकृत मानबहादुर जिरेल लगायत रहेका छन् । छानविन समितिका संयोजक एवम् जिरी नगरपालिकाका उपप्रमुख खड्काले सो स्लाइन जिरी नगरपालिका र जिरी अस्पतालबाट समेत खरिद गरेको नदेखिएको भन्दै घटनाको बारेमा छानविन हुने बताउनुभयो । पौष मसान्तभित्र प्रतिवेदन तयार पारी पेश गर्ने समितिको तयारी छ ।
हिजो जिरी अस्पतालमा जिरी ७ स्थित सिक्रीकी बिरामी सुनमाया तामाङ जिरेललाई गत नोभेम्बर सम्म मात्रै म्याद रहेको स्लाइन चलाइएपछि घटना बाहिरिएको हो । घटना सार्वजनिक भएसँगै नगरपालिकाको जनप्रतिनिधि लगायतका टोलीले पिडितलाई भेटेर छलफल समेत गरेको छ । यही पौष १७ गते पुनः पिडित पक्षसँग छलफल गर्ने समितिले जनाएको छ । भुलबस एउटा स्लाइन म्याद गुज्रेको परेको भन्दै स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ । उपचारमा संलग्न दुई नर्सिङ स्वास्थ्यकर्मीलाई १५ दिनको लागि निलम्बन गरिएको जिरी अस्पतालका मेसु रञ्जित झाले जानकारी दिनुभयो ।
विगतमा जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पताल केही वर्ष यता नगर मातहत सञ्चालनमा रहेको छ । भुलबस भएपनि गलत भएको भन्दै यस्ता घटनालाई दोहोर्याउन नदिन गम्भीर रुपमा छानविन गर्ने जिरी नगरपालिकाले जनाएको छ ।










