
दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाका एक पुरुष काभ्रेपलाचोकमा बसभित्र मृत फेला परेका छन् ।
वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षिय यज्ञ थापा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित बसपार्कमा बसभित्र मृत फेला परेका हुन् । बनेपा नगरपालिका वडा नम्बर ८ स्थित बसपार्कमा पार्किङ गरी राखिएको बा ४ ख १९९६ नम्बरको बसमा उनी मृत फेला परेको काभ्रेका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार उनी बसका सहचालक भएको खुलेको छ । उनको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ । मृतक थापाको शरीरमा ठेउला जस्तो डाबर पनि देखिएको थियो । मृतक थापाको शव पोष्टमार्टमपछि आफन्तजनले बुझेको डिएसपी खतिवडाले जानकारी दिनुभयो । उनको तीन दिनअघि नै मृत्यु भएपनि प्रहरीले आज मात्रै सार्वजनिक गरेको छ ।
काभ्रेका किशोरको रहस्यमय मृत्यु
काभ्रेपलाचोकको सुधार गृहमा राखिएका एक किशोरको रहस्यमय मृत्यु भएको छ । पनौती नगरपालिका वडा नम्बर ८ मा रहेको पिस होम पुर्नस्थापना केन्द्रमा राखिएका मण्डनदेउपुर नगरपालिकाका १७ वर्षिय सुहोन श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । विरामी परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर मृतकको परिवारले भने उनको कुटपिटका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतक श्रेष्ठको शव पोष्टर्मामका लागि धुलिखेल अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो ।