हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ ।
सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन् । सो निर्वाचन प्रक्रियामा सत्तारूढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुवै समितिको सभापति पाएको छ । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अघि सारेको थियो । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्रै उपस्थिति भएपछि उम्मेदवारहरुलाई बिजयी घोषणा गरिएको थियो । उनीहरुलाइ प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका छन् ।
अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै सो पद रिक्त रहेको थियो भने शिक्षा समितिका सभापति घनश्याम दाहाल पनि हालको सरकारमा मन्त्री नियुक्त भएसँगै पद खाली थियो ।