images
images

हातखुट्टा बाँधेर बहुमुल्य सामान चोरी गर्ने चार जना पक्राउ

  • १७ माघ २०७९, मंगलवार ०७:४२

सिन्धुली । सिन्धुलीमा डाँका चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तिनपाटन गाउँपालिका वडा नम्बर ८ कटुन्जेका मंगलबहादुर तमाङ र उनकी भान्जी राम्री माया तमाङलाई हातखुट्टा बाँधेर बहुमुल्य चाँदीका पुराना सिक्का, सुन लगायतका महत्वपुर्ण सामाग्री चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० का लालबहादुर तमाङ, सोही स्थानका हर्कबहादुर तमाङ, फिक्कल गाउँपालिका वडा नम्बर १ का रुद्रबहादुर तमाङ र सोही स्थानका डम्बरबहादुर तमाङ रहेका छन् । उनीहरुले गत पुस २ गते साँझ मंगलबहादुर तमाङ र उनकी भान्जिलाई हातखुट्टा बाँधेर सुनको रिङ, नाकको फुली, बहुमुल्य पुराना चाँदीका सिक्का, तामाको थाल, कचौरा लुटपाट गरी फरार भएका थिए ।

फरार भएका उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चोरी गरिएको सामाग्री सवै दुधौलीका लालबहादुर तमाङको घरमा फेला परेको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट एकसाताको म्याद थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।