
काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा दोलखाका एक सहित ७ जना पक्राउ परेका छन् ।
दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाईँ सहित दुई भारतीय नागरिक र ५ नेपाली युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीका २२ वर्षीय माईकल डगौरा र २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी, भारत विहार घर भई बानेश्वर बस्ने रोशन कुमार र विहार घर भई काठमाडौँ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) बाट खटिएको विशेष टोलीले आज पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले विभिन्न व्यक्तिहरुलाई संगठित रुपमा परिचालन गरि ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाईएको छ । डीजिटल फरेन्सिक ल्याबको रिपोर्ट अनुसार यो समूले हालसम्म तीन अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको सिआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट कम्युटरको सीपीयु २ थान, विभिन्न ब्राण्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरु १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।