
जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
जिरी नगरपालिकाको आयोजना र जिरी माविको व्यवस्थापनमा आजदेखि छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधि सभा साँसद गंगाकार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै साँसद कार्कीले विगतदेखि नै जिरी खेलकुदमा अग्रस्थानमा रहेको भन्दै आगामी दिनमा जिल्ला स्तरमै नमूना बन्न शुभकामना दिनुभयो ।
जिरी माविको प्राङ्गणमा भइरहेको प्रतियोगितामा जिरी नगरपालिकाका ९ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, दौड, ज्यावलिङ थ्रो, सटपुुट, हाइजम्प, लङजम्प, त्रिपलजम्प लगायतका खेलहरु हुनेछन् । आजबाट सुरु भएको प्रतियोगिता माघ २१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले ३५ हजार, उपविजेताले २५ हजार, तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
उद्घाटन समारोह जिरी नगरपालिकाका प्रमुख मित्रवहादुर जिरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख जिरेलले खेलकुद विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले यो वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनको दोस्रो साता जिरीमा हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा दोलखा जिल्ला खेलकुद संघका अध्यक्ष आशिक घिसिङ, जिरी माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार कार्की, नेपाली कांग्रेस जिरी नगर समितिका उपसभापति गणेश जिरेलले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व सांसद इन्द्र बहादुर खड्का, विद्यालयका पूर्व प्रधानाध्यापक टेक बहादुर जिरेल, जिरीका विभिन्न वडाका वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु र खेलप्रशिक्षकहरुको सहभागी थियो ।