दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाले क बर्गको अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि सोमबार पहिलो पटक बसेको गौरीशंकर गाउँपालिका गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । योसँगै पुर्ण अपांगता व्यक्ति र गर्भवती महिलालाई एम्वुलेन्स भाडा बापत शुल्क नलाग्ने भएको छ । यस्तै गौरीशंकर गाउँपालिकाले सातामा दुई दिन भोर्लेबाट पालिकाले दिने सबै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । पालिकाले प्रत्येक साताको आईतबार र सोमबार भोर्लेबाट सेवा प्रवाह गर्ने भएको हो । स्थानीयको समस्यालाई मध्यनजर गर्दै यसअघि पालिकाको कार्यालयबाट मात्रै प्रवाह हुने सेवालाई भोर्लेबाट दिने निर्णय भएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार चंखु, मार्वु र खारेको सेन्टर पर्ने र त्यहाँबाट सेवा प्रवाह गर्दा स्थानीयलाई सहज हुने भएकाले यस्तो निर्णय गरिएको हो ।
बर्खाको समयमा सडक हिलाम्य हुने भएकाले पालिकासम्म पुग्न निकै कठिन हुने भएपछि गाउँपालिकाले घर भाडामा लिएर साताको दुई दिन भोर्लेबाट सेवा प्रवाह गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । पालिकाको यो निर्णयसँगै गौरीशंकरको तल्लो भेगमा बस्ने स्थानीयलाई सहज हुने भएको छ । गाउँकार्यपालिकाले गरेको निर्णय आगामी साउन १ गतेदेखि लागु हुनेछ । यसअघि गौरीशंकरका स्थानीय सामान्य कामका लागि पनि वडा नम्बर ५ सुरीमा रहेको पालिकासम्म पुग्ने गरेका थिए ।