images
images

बागमती प्रदेशसभाबाट नेपालको भूभाग समेटिएको भारतीय नक्साविरुद्ध संकल्प प्रस्ताव स्वीकृत

  • १७ जेष्ठ २०८०, बुधबार १६:०५

हेटौंडा । बागमती प्रदेशसभाले एक संकल्प प्रस्ताव स्वीकृत गरेको छ ।

प्रदेशसभा बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रमुख सचेतक पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले पेश गरेको संकल्प प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गर्नुभयो।संंकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । नियम निलम्बन पश्चात् प्रमुख सचेतक पौडेलले भारतले संसद् भवनमा राखेको भारतको नक्सामा नेपालको भूमि समेत समावेश गरेको विरोधमा संकल्प प्रस्ताव पेश गर्नुभएको थियो ।

भारतले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै पौडेलले संकल्प प्रस्ताव पेश गर्नुभएको थियो । पौडेलले पेश गरेको उक्त प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका थिए । सो संकल्प प्रस्तावलाई दलगत रुपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।

संकल्प प्रस्ताव स्वीकृत गरेसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रदेशसभाको अर्को बैठक आजै ३० मिनेट पछि बस्नेछ ।