
दोलखा । दोलखाको लामाबगरमा सुख्खा पहिरोले तामाकोशी नदी थुनिएको छ ।
आज बिहान करिब साँढे १० बजे बिगु गाउँपालिका १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचमा सुख्खा पहिरो खस्दा करिब ३ घण्टादेखि तामाकोशी नदी थुनिएको हो । तामाकोशी जलबिद्युत आयोजनाको लामाबगर स्थित बाँधस्थलबाट करिब साँढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको हो । पहिरोले नदी थुनिएपनि अहिलेसम्म खुल्न नसकेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । लामो समयदेखि नदी थुनिएकाले तामाकोशी नदीमा बाढी आउने खतरा रहेको भन्दै उहाँले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
लामाबगरमा निर्माणाधीन नासा हाईड्रो र सानिमा हाईड्रोले सडक निर्माण तथा बिस्तारको क्रममा सुख्खा पहिरो खसेको बताईएको छ । तामाकोशी नदी लामो समयदेखि थुनिएका कारण माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल लगायतका संरचनामा समेत क्षति पुग्ने खतरा रहेको छ । तामाकोशी नदीमा हाल प्रतिसेकेण्ड ५० क्युविक मिटर पानीको वहाव रहेको छ ।