दोलखा । सुख्खा पहिरोको कारण तीन घण्टादेखि थुनिएको तामाकोशी नदी आंशिक रुपमा बग्न सुरु गरेको छ ।
पहिरो खसेर बिगु गाउँपालिका १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचमा सानो ताल बनेको र पानी भरिएर क्रमश बग्न सुरु गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । हिउँदयाम भएका कारण तामाकोशीमा पानीको वहाव कम रहेको र बिस्तारै नदी खुलेकाले तटीय क्षेत्रमा ठुलो क्षति नहुने अनुमान गरिएको प्रजिअ पोखरेलको भनाई छ ।
पहिरो स्थलबाट बग्न सुरु गरेको पानी तामाकोशीको बाँधस्थलमा आएर भरिनेछ । तर नदी थुनिएर बनेको ताल एकैपटक खुलेमा क्षति हुनेछ । आज बिहान करिब साँढे १० बजे बिगु गाउँपालिका १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचमा सुख्खा पहिरो खस्दा करिब ३ घण्टादेखि तामाकोशी नदी थुनिएको थियो । तामाकोशी जलबिद्युत आयोजनाको लामाबगर स्थित बाँधस्थलबाट करिब साँढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको हो ।










