दोलखा । आज साउन १५ खीर खाएर मनाइँदै छ ।
असार १५ मा दही चिउराको स्वाद लिएको एक महिनापछि साउन १५ मा खीर खाने प्रचलनअनुसार आजको दिन विशेष सांस्कृतिक महत्व रहेको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मर-मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीरको सांस्कृतिक र औषधिजन्य महत्व रहेको चिकित्सकहरुको भनाई छ । चिकित्सकका अनुसार खीरमा हालिने ल्वाङ, घ्यु, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच लगायतले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा विभिन्न रोगको विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी मानिन्छ ।
पुर्खाहरुले धार्मिक तथा वैज्ञानिक महत्वलाई बुझेर नै हाम्रो मौलिक संस्कृति जोगाउन साउन १५ मा खिर खाने प्रचलन बनाएको जानकारहरु बताउँछन् । यो हाम्रो लागि ठूलो उपलब्धि हो । किनकी यसले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्शाउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ। साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ।










