हेटौंडा । बागमती प्रदेशसभाको बैठकमा प्रतिपक्षीको उपस्थिति न्यून देखिएको छ ।
आज दिउँसो बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको बेन्च भरिभराउ भएपनि प्रतिपक्षको उपस्थिति न्यून रहेको हो । आजको बैठकमा प्रतिपक्षको बेञ्चमा रहेको माओवादीका २१ सांसद मध्ये ८ जनाको उपस्थिति रहेको थियो । बैठकमा दलका प्रमुख सचेतक रत्न ढकाल, भुवन केशरी श्रेष्ठ, मातृका भट्टराई, ठाकुर प्रसाद ढकाल, उर्मिला लामा, रुकु चौलागाई, देवेन्द्र श्रेष्ठ र ईश्वर सापकोटा उपस्थित भएका थिए ।
यता, राप्रपाका १३ सदस्यमध्ये दलको नेता उद्धव थापा, आशा लामा, नुरज बज्राचार्य, डम्बर तामाङ, लक्ष्मी घिमिरे र धनेश्वरी प्रजापति उपस्थित थिए । अन्य ६ जना सांसद भने संसद् बैठकमा उपस्थित थिएनन् । उता प्रतिपक्ष दल एकीकृत समाजवादीबाट एक जना उपस्थित भएका थिए । सो दलबाट रमा आले मगर उपस्थित थिइन् भने नेमकिपा र हाम्रो नेपाली पार्टीबाट संसद् बैठकमा कुनै पनि सांसद देखिएनन् । बैठकमा एमालेका २७ र कांग्रेसका ३४ सांसद उपस्थित थिए ।
एउटा विद्येयक पारित
बागमती प्रदेशसभाको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्माणार्थ पेस गरेका थिए ।
सभामुख पाठकले निर्णयार्थ पेस गरेको उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका थिए । सो विधेयक संसद्बाट पारित भएसँगै ऐनको रूप प्रदान गर्न प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने संसद् सचिवालयले तयारी गरेको छ ।
त्यसअघि प्रदेशसभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णयसहितको प्रतिवेदन पेस भएको थियो भने सो उपर छलफल भएको थियो । संसद् बैठकमा मन्त्री खड्गीले पेस गरेको उक्त विधेयकको निर्णयसहितको प्रतिवेदन माथि कुनै पनि सांसदहरूले छलफलमा भाग लिएनन् ।
सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरे पनि प्रदेशसभाका कुनै सांसदले छलफल गर्न चाहेनन् । सांसदहरूले छलफलमा भाग नलिएपछि सभामुख पाठकले विधेयकलाई पारित गर्ने प्रक्रियामा अघि बढाएका थिए ।